इरेजरले जीवनका दुःख-सुख मेट्न सकिन्न : इन्द्रबहादुर राई

– देवेन्द्र भट्टराई

 
(नेपालबाट प्रकाशित कान्तिपुर दैनिक मा असार १६ शनीबार, २०६४ मा प्रकाशित यस अन्तर्वार्ता देवेन्द्र भट्टराईले लिनु भएको हो।)

इन्द्रबहादुर राई नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने एक सिद्धहस्त स्रष्टा हुन्। ‘आज रमिता छ’, ‘विपना कतिपय’, ‘कठपुतलीको मन’, ‘कथास्था’ लगायतका उपन्यास/कथा कृतिसँगै आयामेली र लीला लेखनको खोज राईसँग जोडिएका परिचय हुन्। भारतको दार्जिलिङमा बस्दै आएका ८० वर्षीय राई शशांक प्रतिष्ठानको एक समारोहमा सहभागी हुन असार पहिलो साता झापाको धुलाबारी आएका थिए।

सिंगो जीवन भाषा/साहित्यमा समर्पित गरेपछि यसलाई तपाईं कत्तिको उत्पादक वा अनुत्पादक क्षेत्र मान्नुहुन्छ?
मेरा बुझाइमा हामी सधैं भ्रममा बाँचेका हुन्छौं। आखिरमा यो साहित्य के हो र? एकदिन हामी मरिजान्छौं। मरेपछि मैले यस्तो लेखेको थिएँ भन्ने ज्ञान पनि रहँदैन। व्यर्थैमा अम्बर हुने कुराहरू किन गर्ने? सधैं यस्तै सोचिरहने हो भने केहीको अर्थ पनि केही लाग्दैन। तैपनि यसलाई ‘सार्थक चिज’ मान्नुपर्छ। बरु ‘भ्रमको पनि सार्थकता हुन्छ है’ भनेर चिन्नुपर्छ, बुझ्नुपर्छ। यो कुरा सबैलाई पढाउनु जरुरी छ। एकजना रेने वेलेक नामका विद्वानको पुस्तक ‘द एट्याक अन लिट्रेचर’मा भनिएको छ— साहित्य समाजका लागि उत्पादक कुरा हो, तर स्वयम् लेखकका लागि भने अनुत्पादक। मलाई पनि यस्तै लाग्छ, समाजको/जीवनको चित्र र चरित्र साहित्यले बाहिर ल्याउने हुँदा यो एकातिर उत्पादक विषय पनि हो। तर हामी लेखकका लागि कुनै बालीनालीझैं उत्पादक कहिल्यै हुन सक्दैन साहित्य।

‘म आफ्नो सिर्जनाको दीयोमा तेल रित्तिएको महसुस हुनेबित्तिकै तेल भर्न नेपाल आउँछु’ भन्नुहुन्थ्यो। अहिले के ठान्नुहुन्छ ?
हो, दसगजा काटेर नेपालतर्फ आउँदा उता (दार्जिलिङ) का कुराहरू अलिक टाढा भएजस्तो लाग्छ। फेरि यताका समस्यासँग चिनजान हुन थालेजस्तो हुन्छ। उताका समस्याले हामीलाई यसरी छोपिरहेको हुन्छ, जसबाट हामी भाग्न सकिरहेका हुन्नौं। यता आउँदा भने केही सिक्ने, जान्ने छोटो मौका मिलेजस्तो हुन्छ। यताबाट दार्जिलिङ जाँदा उताका समस्याहरूले फेरि घेरेर ल्याउँछन्, मनमस्तिष्कमा अभ्यस्त कठिनाइहरू घेरिन थाल्छन्। आजभन्दा ५० वर्षअघि पहिलोपटक नेपाल आउँदा भने यता भिन्नै ठाउँ र भिन्नै समयमा आएजस्तो लाग्थ्यो। त्यसबेला बल गरेर पनि एकअर्काका भिन्नता खोज्नतिर लागिन्थ्यो। अब त के लाग्छ भने हाम्रा भाषा, हाम्रा आवाज, हाम्रा काका-मामा, हाम्रा भँगेरा-काग सबै एकै छन् जस्तो लाग्न थालेको छ। बरु हामी बीचका दुःख र सुखका खालहरू भने भिन्न छन्। र, यो पनि पक्कै हो कि आफ्नो सिर्जनाको दीयोमा तेल रित्तिएको बेला अहिले पनि नेपाल आउने अथवा यताका सत्संग/विचारको स्मरण गर्ने काम म गरिरहेको हुन्छु।

प्रयोग र सिर्जनाका कुरामा कुनै समयमा कवि बालकृष्ण समले भनेका थिए, ‘आज दार्जिलिङले जे सोच्छ, त्यो भोलिमात्रै नेपालले सोच्छ’। तपाईंका विचारमा आजको यथास्थिति के छ ?
हो, त्यसबेला त्यत्तिकै हामीलाई फुक्र्याउन भनिएको थियो कि जस्तो लाग्छ। आज सम्झँदा नेपाल त हामीभन्दा धेरै अघि पुगिसकेको म अनुभव गर्छु। अघि दार्जिलिङले एक-दुई काम गर्‍यो होला, अहिले नेपालले अनेकवटा नयाँ काम गरेको छ, नयाँ बाटो रोजेको छ। सधैं एउटा ठाउँ अघि भइरहने र अर्को ठाउँ पछि भइरहने कुरै छैन। उदाहरणका लागि हामी दार्जिलिङमा अनेक जातजाति र समूह मिसिएको अवस्थामा छौं। हो, हामीलाई स्थितिले त्यस्तो गरायो र हामी मिल्यौं। त्यसरी मिसिएर बसेकाले त्यहाँ नेपाली जातित्वको विकास भयो। यो कुरा नेपालमा भर्खरै सुरु भएको छ, तर विकास हुन बाँकी छ। यसमा दार्जिलिङ पहिलो भएको हो, तर स्थितिलाई पनि भुल्न मिल्दैन। बुद्ध धर्मले भन्छ— सर्त वा अवस्था उब्जिएपछि मात्रै कुनै कार्य सम्भव हुन्छ।

जीवनमा आजभन्दा ५० वर्षअघि गरिएका वा लेखिएका कामहरू आज पुरानाझैं, काम नलाग्नेझैं भएका जस्तो लाग्दैन?
होइन, त्यसरी गरिएका कामहरू ‘अर्थहीन’ बनेका छन् भन्ने पक्षमा त म छैन। बरु यत्ति हो कि हामीले प्रयोग गरेका अर्थहरू भने मरेका हुनसक्छन्। समयकालमा लेखकको मृत्युमात्रै होइन, अर्थको पनि मृत्यु हुन्छ। र नयाँ अर्थ जन्मन्छ। लेखनाथले भनेका छन्— ‘चैत्रमा किन हुँदैन धान, तँलाई मालुम छ कि यो कुरा मन’। अब यसलाई अर्थ लगाएर पढाउनुपर्दा हामी ‘ईश्वरको इच्छाले मात्रै सबै कुरा हुन्छ, ईश्वरको इच्छा हुँदैन भने केही पनि हुन्न’ भनी पढाउँथ्यौं। उनको इच्छा नभई चैतमा धान रोपिन्न भन्थ्यौं, उनको इच्छाविना एउटा पात पनि हल्लिन सक्दैन भन्थ्यौं। तर आजकल अनेक खालका धानका वीउ आएर, सिंचाइ भएर चैतमा पनि धान रोपिन्छ, मंसिरमा पनि रोपिन्छ। अब भने त्यो पुरानो अर्थमा विनिर्माण आएको छ, यसरी अर्थको मृत्यु भएको छ।

लेख्नुभन्दा अगाडि नै कुनै शैली प्रयोगको खाका बन्छ या यो पछि बन्ने कुरा हो?
यसमा विचार गर्नेहरूले भन्छन्, सिद्धान्त र प्रयोगमा कुन अघि हिँड्छ भन्ने कहिल्यै थाहा हुन्न। अनि कसले कसलाई पछ्याउँछ, यो पनि भन्न नसकिने कुरा हो। जहाँ सिद्धान्तले कुनै कुरा लेख्न सकिन्न, त्यो कुरा प्रयोगले लेख्न सकिन्छ भनेर आजका साहित्यिक चिन्तकले भन्छन्। सिद्धान्तले पनि विश्लेषण गर्न नसकिने कुराहरू कत्ति हुन्छन्। तर ती कुरा प्रयोग र लेखनले भने भनिसकेको हुन्छ। उदाहरणमा, फ्राययडवाद त धेरै पछि आएको कुरा हो। शेक्सपियरका पालामा फ्रायडवादको कुनै कुरा थिएन। तर सिद्धान्तविनै उनले ‘ह्याम्लेट’मा कसरी फ्रायडवाद प्रयोग गरिसकेका रहेछन् भन्ने पछि थाहा भयो। बरु हामीजस्ता साधारण मान्छेका लागि भने अलिक निरापद बाटो भने सिद्धान्तलाई पहिले बुझेर अनिमात्रै प्रयोगमा लाग्नुमा हुन्छ। यसो गर्दा हामी ‘भूलबाटो’मा नपरिएला कि भन्ने हुन्छ। मेरो आफ्नो कुरा गर्दा भने अहिले आएर अनुभव हुनथालेको छ— मैले आफ्ना बारेमा त केही पनि लेखेको रहेनछु। खालि अरूकै भूमिका, अरूकै बारे लेखेर र प्रश्नोत्तर गरेरै मैले समय कटाएको रहेछु। अब केही लेख्छु भन्ने मनमा छ, के लेख्नुपर्ने हो— त्यो पनि मनमा छ, तर अरू काममा अनुरोध गर्नेहरूको चित्त नदुखाई नयाँ काम गर्न भने धेरै गाह्रो छ। यो ठूलो समस्या छ।

तपाईंको अनुभवमा जीवनमा ‘उमेर’ भन्ने के चिज रहेछ ? तीस वर्षे ऊर्जा र आजको अवस्थामा के अन्तर छ?
हो, अघि दगुर्दै आएको रफ्तारले गर्दा होला, अहिले पनि झट्टै बिसाउनसकेको भने छैन। अझै पनि अलिअलि हिँड्दैछु, कहिलेसम्म/कहाँसम्म जाने हो, थाहा छैन। पक्कै पनि थकाइको महसुस अलिक हुनथालेको छ। जीवनमा उमेर निकै ठूलो कुरा रहेछ, यो केही पनि होइन भन्न नसकिने रहेछ। अघि-अघि उमेर पातलो कमेज लगाएजस्तो हुन्थ्यो, लाएको थाहा पनि नपाइने। अब उमेर अलिक बाक्लो ओभरकोटजस्तो हुनथालेको छ, बोकेर हिँडेको तत्कालै थाहा भइहाल्ने।

उमेरसँगै पुराना कुरा सम्झनुमा कत्तिको फरक हुन्छ? पुस्तकतिर हामी पढ्छौं, पुराना कुराहरूलाई पछि फर्केर हेर्दा नयाँ अनुभवका माध्यमबाट हेरिन्छ। पुराना कुराहरूको मूल्य पनि भिन्न-भिन्न हुन जान्छ। प्रौढ अवस्थामा निकै सुखी हुन पाइयो भने आफ्नो दुःखपूर्ण बाल्यकाल पनि अलिक सुखपूर्ण देखिन थाल्छ। अझ बुढेसकालमा बढ्तै दुःख पायौं भने त आफ्नो दुःखपूर्ण बाल्यकालसमेत सुखपूर्ण देखिन थाल्छ रे। तर मचाहिँ अलिकति ढिलो परिवर्तन हुने खालको मानिस रहेछु। ममा अपर्झट दृष्टिको परिवर्तन आएन। सानो उमेरका कुराहरूलाई हेर्दा पहिले जुन मूल्यांकनले हेर्थें, अहिले पनि त्यही मूल्यांकनले हेर्छु जस्तो लाग्छ। जस्तोः अघि-अघि बाल्यकालमा आफूलाई मनपर्दा पुस्तकहरू किन्ने सौख र पैसाका लागि कुनै बन्देज थिएन, जुन अहिलेसम्म पनि छ।

जीवन यसो भइदिएको भए यसो हुन्थ्यो, अथवा अझ राम्रो हुने थियो भन्ने केही छ कि?
फ्रान्सका रव घ्रिलेइले एउटा लघु उपन्यास ‘द इरेजर’ लेखेका छन्। त्यसमा विषय छ, कुनै व्यक्तिले एउटा इरेजर (मेटाउने चिज) भेटेको छ र जसले आफ्नो इच्छाअनुसार भूतकाललाई मेटाउन सकिने हुन्छ। र त्यसमा इच्छाअनुसार नयाँ इमेज उतार्न सकिने हुन्छ। ‘तिमीले आफ्नो विगतका कुन-कुन कुरा मेटाउन सक्ने थियौ र त्यसको सट्टामा कस्तो चित्र अंकित गर्न सक्ने थियौ’ भनेर सोधिएको हुन्छ। अहँ, जति गर्दा पनि त्यस्तो मेटाउने कुरा पाइँदैन र सकिँदैन। सम्झनुहोस्— मलाई मन नपरेकी केटीसँग बिहा गर्नुपर्‍यो, म त्यो मेटाउन चाहन्छु। तर मन नपरेकी उनीबाट मनपर्दा छोराछोरी जन्मेका होलान्। अब के गर्ने ? ती श्रीमतीलाई मेटाउने हो भने ती केटाकेटी पनि मेटिन्छन्, जुन म चाहन्न। र त्यस्तो ‘इरेजर’ कतै भेटिएमा पनि सबैको हालत यही हुन्छ, कतैकहीं केही मेटाउन वा थप्न नसकिने ‘कहालिलाग्दो’ अवस्था। यहाँ जन्मेको भए, त्यहाँ जन्मेको भए भन्ने कुरा पनि ‘इरेजर’ भेटिएजस्तै कुरा हो। हाम्रा जीवनका दुःखसुखहरू पनि त्यस्तै हुन्, जसलाई कुनै ‘इरेजर’ले पनि मेट्न सकिन्न।

तैपनि स्वैरकाल्पनिक बनेर जीवनमा अझ बढी सुख वा आनन्दका विकल्प रोज्नेबारे कहिल्यै सोचाइ भएन?
हेर्नुहोस्, आफ्नो सुख पनि आफूले चिनेको सुख हुन्छ। आफ्नो दुःख पनि आफूले चिनेको दुःख हुन्छ। र अरूका सुखदुःखहरू त आफूले नचिनेका हुन्छन्। नचिनेका सुखदुःखभन्दा आफूले चिनेका सुखदुःखहरू नै सहन सकिने र प्यारा हुन्छन्। फेरि अर्को कुरा हामी आजकल कुनै कुरा पनि निश्चत भएर भन्न सक्दैनौं। हरेक कुरामा ‘खोइ होला’ भन्ने जवाफ आउँछ। हाम्रो टाउकोमा ज्यादा ज्ञान पस्यो भने यो अवस्था आउँछ। ‘यो पनि जानेका छौं, त्यो पनि जानेका छौं’ भन्ने भ्रमले जानेका कुरासमेत नजानेको झैं अवस्था आएको छ। यो अति चेतनाले हामीलाई अझ दिग्भ्रमित बनाएको छ। निश्चितता पाउन छाडेपछिको अवस्था अझ कठिन बनेको छ।

लेखनमा आइबी राई त अरूहरूका लागि अब एउटा विश्वासिलो ‘लेबल’ बनिसकेको छ भन्ने कत्तिको मान्नुहुन्छ ?
यही ‘लेबल’ले त सबै कुरा बिगार्छ नि ! हामी बजारमा केही चिज किन्न जान्छौं। मानौं, एउटा विदेशबाट आएको एउटा जुत्ता मनपर्‍यो। हाम्रो विवेकले भित्रबाट भन्छ, यो जुत्ताको मूल्य खासमा त ५ सय रुपैयाँ हुनुपर्छ। तर त्यसमा एउटा नामी कम्पनीको लेबल लागेको छ, त्यो देखेर हामी त्यही जुत्तालाई २ हजार रुपैयाँसमेत हाल्छौं। उत्तर-आधुनिकताको यो दिनहुँको अनुभव/भोगाइ हो। एउटा ‘लेबल’ले हामी कसरी बहकिन्छौं, हामी कुनचाहिँ षड्यन्त्रमा छिरिरहेका छौं भन्ने यो खोजाइ पनि उत्तर-आधुनिकता हो। जबकि त्यो बहकाइ एउटा भ्रममात्रै हो। त्यो झुक्काइमा पश्चिमकाले भने खोज गरेका छन्, अब हामी भने झुक्कीमात्र रहेका छौं। उनीहरूले त्यही खोजबाट बनाएका छन्, ‘हाइपोरियल’ सिद्धान्त। तर हामी भने ‘लेबल’मै दङ्गदास छौं।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: